नेपाली महिला क्रिकेट टोली एसिया कप छनोटबाट बाहिरियो

नेपाली महिला क्रिकेट टोली एसिया कप छनोटबाट बाहिरियो


काठमाडौं : एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ कपमा छनोट हुन असफल भएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो। थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनमा समेटियो।

नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन्। यस्तै, सोनी पाख्रिनले १५ तथा सम्झना खड्का र सीता रानामगरले समान १२/१२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३० रनको योगफल बनाएको थियो।

थाइल्याण्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको योगदान दिइन्। यस्तै, फानिता मायाले २६ रन बनाइन् भने चानिदा सुथिरूवाङले १६ तथा कप्तान नारूमोइ चाइवाइ ८ रन बनाइन्।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १/१ विकेट लिए। यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ। 

जेठ २७, २०८३ बुधबार १२:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।