शाहीलाई स्वर्णिमको जवाफ- बजेटकै कुरा विधेयकमा छुटेकाले सच्याइएको हो, यसमा कहाँ राजद्रोह देख्नुभयो?
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भएका केही भाषागत तथा प्राविधिक त्रुटिहरू स्थापित प्रक्रियाअनुसार नै सच्याइएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बुधबार बोल्दै उनले बजेटमा घोषणा गरिएका तर विधेयकको मस्यौदामा छुटेका कुराहरूलाई नियमसङ्गत ढङ्गले थपिएको बताए।
मंगलबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले करका दर हेरफेर गरेको आरोप लगाउँदै अर्थमन्त्रीमाथि गम्भीर छानबिन गर्न र राजद्रोहको मुद्दा चलाउन माग गरेका थिए।
त्यसको प्रतिवाद गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘बजेटमै बोलेको कुरा अर्थ विधेयकमा छुटेकाले थपिएको हो। यसमा कहाँ राजद्रोह र देशद्रोह देख्नुभयो? राष्ट्रिय स्वतन्त्र पार्टीलाई पचाउन गाह्रो भएका कारण भ्रम छरिएको हो।’
अर्थमन्त्री वाग्लेका अनुसार जेठ १५ गते संसद्मा टेबुल गरिएको आर्थिक विधेयकमा केही भाषागत त्रुटि र सामान्य हेरफेर आवश्यक देखिएपछि कर्मचारीहरूको आग्रह, विगतको अभ्यास र स्थापित प्रक्रियाबमोजिम सच्याइएको थियो।
सच्याइएको सो विवरण जेठ १७ गते नै संसद्का महासचिवलाई पठाएर जानकारी गराइएको उनले स्पष्ट पारे।
‘सामान्य रूपमा संसद्मा यस्ता संशोधन हुने गरेका छन्। गत वर्ष एमाले र कांग्रेसको सरकार हुँदा ७३ वटा विषय सच्याइएको थियो, यसपालि त केवल तीन-चार वटा विषय मात्र सच्याइएको हो’, उनले विगतको अभ्यास स्मरण गराउँदै भने।
विद्युतीय सवारीसाधनको करबारे स्पष्ट पार्दै उनले रगत वा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर मात्र परिवर्तन भएको र अन्य धेरैजसो व्यवस्थामा भाषा मात्र स्पष्ट पारिएको बताए। साथै ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनसम्बन्धी व्यवस्थामा पनि आवश्यक सुधार गरिएको उनको भनाइ थियो।
यस विषयलाई लिएर मिडिया र निश्चित समूहले अनावश्यक रूपमा उछालेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
‘हप्ताभरि पत्रिकाहरूले उछालेर स्वर्णिम वाग्ले मन्त्रालयमा बसेर कुटुकुटु दरहरू चलाइरहेको छ भन्ने भ्रम सिर्जना गरे,’ उनले थपे, ‘यो विषय चियाको कपमा तुफान ल्याउन खोजे जस्तै मात्र हो। यसको पछाडि एउटा संगठित समूह लागेको छ, जसको डटेर सामना गरिनेछ।’
जेठ २७, २०८३ बुधबार १०:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।