निर्वाचन समीक्षा र संगठन पुनर्गठनबारे सुझाव सङ्कलन गर्न एमालेले तय गर्‍यो कार्यतालिका

निर्वाचन समीक्षा र संगठन पुनर्गठनबारे सुझाव सङ्कलन गर्न एमालेले तय गर्‍यो कार्यतालिका

काठमाडौं : एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणका लागि आगामी असार १९ गतेसम्म देशव्यापी सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले प्रदेशदेखि केन्द्रसम्मका विभिन्न संरचनामा छलफल र सुझाव सङ्कलनको कार्यतालिका तय गर्यो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बैठक बसेको थियो।

बैठकले कार्यदलको सदस्य-सचिवको जिम्मेवारी महासचिव शङ्कर पोखरेललाई दिने निर्णय गर्यो। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलले जेठ ३० गते बागमती प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्नेछ।

असार २ गते कोशी, ४ गते लुम्बिनी, ६ गते सुदूरपश्चिम, ८ गते कर्णाली, ११ गते गण्डकी र १३ गते मधेश प्रदेशमा सुझाव सङ्कलन गरिनेछ। त्यस्तै, असार १६ गते राजधानी, १७ गते सम्पर्क समन्वय, १८ गते जनसङ्गठन र १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग सुझाव लिइने कार्यतालिका छ।

सुझाव सङ्कलनको लागि हुने भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ।

बैठकमा ओलीले पार्टीलाई एकताबद्ध र जनमुखी बनाउन कार्यकर्ताहरूलाई जनतामाझ सक्रिय हुन निर्देशन दिए। निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशाबारे उनले धारणा राखेका थिए।

गत जेठ १० गतेको सचिवालय बैठकले पार्टी शुद्धीकरण र रूपान्तरणका लागि १५ सदस्यीय कार्यदल गठन गरेको थियो। बैठकमा निर्वाचन समीक्षा र सङ्गठन पुनर्गठनका विषयमा विस्तृत छलफल भएको कार्यदलका सदस्य एवं सचिव महेश बस्नेतले जानकारी दिए। 

जेठ २६, २०८३ मंगलबार १६:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।