विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले रोक्यो

विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले रोक्यो

काठमाडौं : फिफा विश्वकप २०२६ उद्घाटन सत्रमा मेक्सीको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ्ग र महासचिव किरण राईलाई विमानस्थलबाटै फर्काएको छ।

विश्वकपको उद्घाटन सत्रमा सहभागी हुन जानको लागि सोमबार विमानस्थल पुगेका नेम्वाङ्ग र राईलाई विमानस्थलबाटै फर्काएको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले उकेरालाई जानकारी दिए। 

“सरकारी निकायले वाच लिस्टमा राखेको हुँदा उहाँहरूलाई विदेश जान रोक लगाएको हो। अलि अगाडी उहाँहरू लगायतलाई कालोसूचीमा राख्न राष्ट्रिय खेलकुद परिसरले भनेपछि हामीले कालोसूचीमा राखेका थियौं”, उनले भने, “त्यसैले पनि उहाँहरू अहिले पनि वाच लिस्टमा भएकोले रोकेको हो।”

गत चैत्र  ११ गते राखेपले एन्फालाई तीन महिनाको लागि भनेर निलम्बन गरेको थियो। त्यसपछि वैशाख १३ गते राखेपले एन्फा अध्यक्ष सहित २४ जना विदेश भ्रमण रोक्न भन्दै कालो सूचीमा राख्न अध्यागमन विभागमा चिठ्ठी पठाएको थियो। सोही अनुसार विभागले एन्फा पदाधिकारीलाई कालोसूचीमा राखेको थियो। 

हालसम्म पनि एन्फा पदाधिकारीहरूको पासपोर्ट हालसम्म फुकुवा नभएकोले विभागका सूचना अधिकारी ढकाल बताउँछन्। उनी भन्छन्, “राखेपबाट हालसम्म कुनै प्रकारको जवाफ आएको छैन। उहाँहरूलाई यात्रा गर्न दिने वा नदिने भन्ने बारेमा त्यसैले उहाँहरूलाई विमानस्थलबाट फर्काएका हौं।”

यो बीचमा एन्फा पदाधिकारीले फुकुवा गर्न अनुरोध गरे पनि राष्ट्रिय खेलकुद परिषद्ले अस्वीकार गर्दै आएको छ। राष्ट्रिय खेलकुद परिषद्ले पासपोर्ट कालोसूचीबाट हटाउन अस्वीकार गर्दा पनि एन्फा पदाधिकारी विदेश जान खोजेका थिए। फलस्वरूप उनीहरू विमानस्थलबाट फर्काइएका हुन्। 

एन्फाको विषयमा राखेपले छानबिन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको नेतृत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। 

सोही समितिले आर्थिक विषयमा छानबिन गर्नुपर्ने निष्कर्ष निकालेकोले एन्फा अध्यक्ष नेम्वाङ्गसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार भएपछि खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। गृहबाट अध्यागमनमा पत्र पुगेपछि उनी अध्यागमनले नेम्वाङ्ग सहितका पदाधिकारीलाई कालोसूचीमा राखेको थियो।

जेठ २६, २०८३ मंगलबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।