करका दर हेरफेर प्रकरण : अर्थमन्त्रीको बचाउमा प्रवक्ता पोखरेल भन्छन्- ‘कुनै चलखेल भएको छैन’
काठमाडौं : सरकारले संसद्मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको भनी उठेको विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आर्थिक विधेयकमा कुनै पनि प्रकारको चलखेल नभएको दाबी गरे।
अर्थमन्त्रीले निकै मेहनत गरेर राम्रो बजेट ल्याएको उल्लेख गर्दै उनले भने, ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर राम्रो बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।’
अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संसद्मा पेस गरेको आर्थिक विधेयकको पृष्ठ सङ्ख्या ४६४ रहेको थियो। तर, अर्थ मन्त्रालयले फेरबदल गरी आफ्नो वेबसाइटमा राखेको सोही विधेयकको पृष्ठ सङ्ख्या भने ४४८ मात्र पाइएको छ।
संसद्मा दर्ता भइसकेको विधेयकबाट १६ पृष्ठ हटाएर नयाँ रूपमा सार्वजनिक गरिएपछि करसम्बन्धी व्यवस्था नै परिवर्तन भएको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ।
संसद्का जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा संशोधन वा परिमार्जन गर्न संसद्कै अनिवार्य स्वीकृति आवश्यक पर्दछ। संसद्मा दर्ता भइसकेको विधेयकमा अर्थ मन्त्रालय आफैँले फेरबदल गर्न पाउने कानुनी व्यवस्था छैन।
करका दरमा अनधिकृत हेरफेर, सूचना चुहावट र बीवाईडी विद्युतीय गाडी भन्सार पास प्रकरणलाई लिएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन्।
जेठ २६, २०८३ मंगलबार १२:४२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।