काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीया वृद्धाको मृत्यु, फरार चालक पक्राउ

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीया वृद्धाको मृत्यु, फरार चालक पक्राउ

धुलिखेल : काभ्रेको मण्डनदेउपुर नगरपालिका-८ ढाइटारमा भएको मोटरसाइकल दुर्घटनामा परी ६० वर्षीया एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुन्ताबेशी-नगरकोट सडक खण्ड अन्तर्गत ढाइटारबाट कुन्ताबेशीतर्फ आउँदै गरेको बा २७ प ६३८ नम्बरको हिरो होण्डा मोटरसाइकल जेठ २५ गते दिउँसो पौने २ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा मण्डनदेउपुर नगरपालिका-८ ढाइटार बस्ने रामप्रसाद गौतमकी ६० वर्षीया श्रीमती हेमकुमारी गौतम गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि तत्काल मण्डनदेउपुर नगर अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटना भएको मोटरसाइकल सडकबाट करिब १४ फिट तल खसेको थियो।

सुरुमा मृतक वृद्धा पैदल यात्री हुन् वा मोटरसाइकलको पछाडि सवार थिइन् भन्ने स्पष्ट हुन नसके पनि प्रहरीको थप अनुसन्धानबाट उनी सोही मोटरसाइकलको पछाडि सवार रहेको खुलेको छ।

मृतकको शरीरमा बाहिरी चोटपटक वा निलडाम नदेखिएको प्रहरीले जनाएको छ।

घटनालगत्तै फरार रहेका मोटरसाइकल चालक मण्डनदेउपुर नगरपालिका-४ बस्ने ४० वर्षीय तिर्थमान तामाङलाई सोमबार (२६ जेठ) बिहान ३:३० बजे जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।

मृतकको शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ २६, २०८३ मंगलबार १०:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।