आजको मौसम : पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
काठमाडौं : नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्छ।
यसैगरी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने आज तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २६, २०८३ मंगलबार ०७:१७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।