सतुङ्गल-चित्लाङ तथा कुलेखानी-फाखेल-फर्पिङ सडक एक महिनाको लागि बन्द

सतुङ्गल-चित्लाङ तथा कुलेखानी-फाखेल-फर्पिङ सडक एक महिनाको लागि बन्द

काठमाडौं : देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मतका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।

जेठ २५ गते बिहान ६:३० बजेसम्मको आधिकारिक विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय मुख्य मार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने कतिपयमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।

पहिरो र सडक मर्मत कार्यका कारण काठमाडौँको सतुङ्गल-चित्लाङ सडक खण्ड र मकवानपुरको कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द रहने भएका छन्।

यस्तै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यता कोशी प्रदेशतर्फ बाढीका कारण पाँचथरको याङवरकस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प भएको छ भने भोजपुरको बोखिम खण्डमा वैकल्पिक बाटोमार्फत एकतर्फी मात्र गाडी चलिरहेका छन्।

सडक अवरोध र मर्मतका कारण लामो दूरीको यात्रा तय गर्नुअघि सडकको अवस्था बुझ्न यात्रुहरूलाई अनुरोध गरिएको छ।

जेठ २५, २०८३ सोमबार ०८:३५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।