आजको मौसम : पहाडी र हिमाली भू-भागमा वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी

आजको मौसम : पहाडी र हिमाली भू-भागमा वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी

काठमाडौं : आज देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

मधेश प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा भने आज अत्यधिक गर्मी (तातो दिन) हुने सम्भावना छ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बदली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जेठ २५, २०८३ सोमबार ०८:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।