रुपन्देही क्रिकेट संघ : नियमित प्रतियोगिता, खेलाडीलाई पारिश्रमिक र एकेडेमी सञ्चालन
बुटवल : चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताका कारण रुपन्देही जिल्ला क्रिकेट खेलमा सधैँ अग्रणी स्थानमा रहँदै आएको छ।
संघीय सरकारबाट न्यून बजेट विनियोजन भए पनि प्रदेश र स्थानीय सरकारसँगको सहकार्य, निजी क्षेत्रको सहयोग तथा दूरदर्शी नेतृत्वका कारण जिल्लाको क्रिकेट क्षेत्रले ठूलो फड्को मारेको छ।
रुपन्देही क्रिकेट संघले वार्षिक कार्यतालिका नै बनाएर प्रतियोगिताहरू सञ्चालन गर्ने भएकाले यहाँ क्रिकेटको क्रेज निरन्तर बढ्दो छ।
सिद्धार्थ रंगशाला क्षेत्रलाई सीसीटीभी क्यामेराको निगरानीमा राख्नुका साथै व्यवस्थित कार्यालय र मैदानको चारैतर्फ तारजाली लगाइएको छ।
रुपन्देही क्रिकेट संघका संस्थापक प्रेमकुमार सेन्चुरीका अनुसार विगतमा जग बसाल्ने काम भए पनि पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल र वर्तमान अध्यक्ष हरिबहादुर थापाको कार्यकालमा व्यवस्थापकीय र पूर्वाधारका कामहरूले तीव्रता पाएका छन्। यसबाट खेलाडी तथा पुराना खेल व्यवस्थापकहरू निकै उत्साहित छन्।
जिल्लास्तरको खेल संघ भएर पनि रुपन्देहीले ९ जना महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ।
जिल्ला संघले खेलाडीलाई पारिश्रमिक दिनु नेपालकै क्रिकेट इतिहासमा पहिलो प्रयास हो। महिला खेलाडीहरूका लागि संघले यातायात खर्च, खाना लगायतका सुविधा समेत व्यवस्था गरेको छ।
क्रिकेटर सुरती बुढा भन्छिन्, ‘जिल्ला स्तरमै पारिश्रमिक पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो। यसले खेलाडीहरूमा नयाँ ऊर्जा थपेको छ।’
संघले दक्ष प्रशिक्षक नियुक्त गरी विगत चार वर्षदेखि आफ्नै एकेडेमी सञ्चालन गरिरहेको छ। हाल १५० भन्दा बढी बालबालिका यस एकेडेमीमा प्रशिक्षणरत छन्। गरिब तथा जेहेन्दार प्रशिक्षार्थीलाई निःशुल्क प्रशिक्षण दिइने प्रशिक्षक मानबहादुर थापा बताउँछन्।
महिला क्रिकेटको विकासका लागि बिदाका दिन महिला खेलाडीहरूलाई यातायात खर्च दिएर भैरहवास्थित सिद्धार्थ रंगशालामा अभ्यास गराउने गरिएको क्रिकेटर आस्मी पुलामी मगरले बताइन्। यस्तो अभ्यास र प्रोत्साहनका कारण जिल्लामा महिला खेलाडीहरूको सहभागिता पनि बढेको छ।
संघले विद्यालय, प्लस टु र कलेज स्तरीय प्रतियोगिताहरू नियमित आयोजना गर्दै आएको छ। नेपालमै जिल्ला स्तरमा एक महिनासम्म चल्ने एकमात्र एकदिवसीय प्रतियोगिता ‘रुपन्देही सुपरलिग’ यसै जिल्लामा नियमित सञ्चालन हुन्छ। निजी क्षेत्रको सहकार्यमा अन्तरदेशीय र क्लब स्तरीय खेलहरू समेत यहाँ आयोजना हुने गरेका छन्।
पिचको राम्रो व्यवस्थापन र संरक्षण भएका कारण यहाँ प्रधानमन्त्री कप जस्ता राष्ट्रिय प्रतियोगिताहरू निरन्तर आयोजना भइरहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वकार्यवाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लका अनुसार नेपालका राष्ट्रिय टोलीहरूले मात्र नभई भारत, पाकिस्तान र बङ्गलादेशका क्लबहरूले समेत यस मैदानमा आएर खेलिसकेका छन्।
संघीय सरकारबाट पर्याप्त बजेट नआए पनि स्थानीय समन्वय र निजी क्षेत्रको सहयोगले रुपन्देहीलाई राष्ट्रिय क्रिकेटको बलियो केन्द्रका रूपमा स्थापित गरेको मल्लको भनाइ छ।
संघका अध्यक्ष हरिबहादुर थापा सामूहिक भावना र पारदर्शिताका कारण यो सफलता सम्भव भएको बताउँछन्।
‘गेट निर्माणदेखि एकेडेमी सञ्चालन, सीसीटीभी जडान र खेलाडीलाई पारिश्रमिक दिने काम सामूहिक प्रयासबाटै पूरा भएको हो’, अध्यक्ष थापाले भने।
वर्षायामबाहेक वर्षभरि नै खेल सञ्चालन हुने यस रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सबै तहका सरकार र सरोकारवाला निकायहरूसँग पहल भइरहेको उनले जानकारी दिए।
जेठ २२, २०८३ शुक्रबार १४:१५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।