महिला क्रिकेटमा पहिलो पटक ‘टाइम आउट’, पारस खड्काले माफी मागे

महिला क्रिकेटमा पहिलो पटक ‘टाइम आउट’, पारस खड्काले माफी मागे

काठमाडौं : महिला अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भुटानी ब्याटर रित्सी छोदेन ‘टाइम आउट’का कारण मैदानबाट बाहिरिनु परेको छ।

नेपालविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा ब्याटिङ गर्न ९० सेकेन्डभन्दा बढी समय लगाएपछि उनलाई आउट घोषणा गरिएको थियो।

नियम अनुसार आउट भए पनि यो खेल भावना विपरीत भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले भुटानसँग आधिकारिक रूपमा माफी मागेको छ।

मलेसियाको मन्टिनमा जारी एसीसी प्रिमियर कपमा भुटानले नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यो घटना भएको हो। भुटानको ब्याटिङको पहिलो बलमै ओपनर नवाङ छोदेन शून्य रनमा आउट भइन्।

त्यसपछि मैदान प्रवेश गरेकी रित्सी छोदेन ब्याटिङका लागि पूर्ण रूपमा तयार थिइनन्। उनी हातमा हेलमेट र ग्लोभ्स बोकेर मैदान प्रवेश गर्दै अम्पायारसँग कुराकानी गरिरहेकी थिइन्।

त्यसपछि नेपाली खेलाडीहरूले ‘टाइम आउट’को अपिल गरे र अम्पायारद्वय सुन मेङ याओ र अंकिता गुहाले रित्सीलाई आउट घोषणा गरे। यससँगै भुटानले एक बलमा कुनै रन नजोडी दुई विकेट गुमाउन पुग्यो।

नेपाली ब्याटर पूजा महतोले अम्पायारसँग कुरा गर्दै विकेटको खुसीयाली मनाएकी थिइन्। रित्सीले पनि कुनै विरोध नगरी मैदान छाडेकी थिइन्।

क्यानले माग्यो माफी
खेल सकिएपछि क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सरोकारवाला सबैसँग माफी मागेका छन्। यो घटना खेलको गरिमा र भावना अनुकूल नभएको उनले स्वीकार गरेका छन्।

क्यानले विज्ञप्तिमा भनेको छ, ‘आजको खेलमा भएको टाइम आउटको घटनाले नेपाली क्रिकेटले अंगीकार गर्ने मूल्य र मान्यतालाई प्रतिनिधित्व गर्दैन। नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीको यस कदमका लागि हामी भुटान क्रिकेट र खेलाडीसँग क्षमा माग्दछौँ। नियम अनुसार आउट भए पनि खेलको भावना लिखित कानुनभन्दा माथि हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।’

खेलमा ११४ रनको लक्ष्य पछ्याएको भुटानको ब्याटिङ चल्न सकेन र टोली ५१ रनले पराजित भयो। जितसँगै नेपाल लगातार दुई जित दर्ता गर्दै समूह ‘डी’को शीर्ष स्थानमा पुगेको छ भने भुटान दुवै खेलमा पराजित हुँदै तेस्रो स्थानमा छ।

जेठ २२, २०८३ शुक्रबार ०७:३१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।