टी२०आई क्रिकेटमा कुशल भुर्तेलको तेस्रो शतक, बने नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी२०आई क्रिकेटमा आफ्नो तेस्रो शतक प्रहार गरेका छन्।
सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायर अन्तर्गत मलेसियाविरुद्धको खेलमा उनले यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। योसँगै उनी टी२०आई क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै शतक हान्ने खेलाडी समेत बनेका छन्।
भुर्तेलले मात्र ४४ बल खेल्दै १० चौका र ७ छक्काको मद्दतले १०० रन पूरा गरे। आक्रामक इनिङ्सका क्रममा उनको स्ट्राइक रेट २२७.२७ रह्यो।
भुर्तेलको टी२०आई क्रिकेट करियरको यो तेस्रो शतक हो। यसअघि उनले गत ३१ मे मा जारी एसियन गेम्स क्वालिफायरको पहिलो खेलमा चीनविरुद्ध १२९ रनको पारी खेलेका थिए।
त्यसैगरी, सन् २०२२ मा ओमानमा भएको खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय इनिङ्स खेल्नुभएको थियो।
यस शतकीय इनिङ्ससँगै भुर्तेल टी२०आई क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको कीर्तिमानलाई तोड्दै यो नयाँ रेकर्ड कायम गरेका हुन्।
यसअघि नेपालका लागि टी२०आईमा सर्वाधिक रन बनाउने कीर्तिमान ऐरीको नाममा थियो, जसले २ हजार १ सय ४६ रन बनाएका थिए। अहिले भुर्तेल २ हजार २ सय ७ रनभन्दा बढी बनाएर खेलिरहेका छन्।
जेठ २१, २०८३ बिहीबार १३:३१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।