एसियन गेम्स क्वालिफायर : पावरप्लेमा नेपालको आक्रामक सुरुवात, ६ ओभरमै विनाक्षति ९५ रन
काठमाडौं : एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको मलेसियाविरुद्धको खेलमा नेपालले पावरप्लेमा आक्रामक सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो ६ ओभर (पावरप्ले) मा कुनै पनि विकेट नगुमाई ९५ रन जोडेको छ।
सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा नेपालका दुवै ओपनर क्रिजमा आक्रामक रूपमा प्रस्तुत भएका छन्।
ओपनर आसिफ शेख मात्र १५ बलमा ४८ रन बनाएर खेलिरहेका छन्। उनी अर्धशतक बनाउन मात्र २ रनले टाढा छन्। यस क्रममा उहाँले ४ चौका र ५ छक्का प्रहार गरेका छन्।
अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा ४३ रन बनाएर ब्याटिङ गरिरहेका छन्। उनले ८ चौका र १ छक्का प्रहार गरेका छन्।
नेपालले मलेसियाका बलरहरूविरुद्ध सुरुदेखि नै दबाब बनाएको थियो।
विशेष गरी छैटौं ओभरमा अज्री अजहरविरुद्ध नेपालले २७ रन जोडेको थियो, जसमा आसिफले दुई छक्का र दुई चौका तथा कुशलले एक छक्का र एक चौका प्रहार गरेका थिए।
यसअघि चौथो ओभरमा पवनदीप सिंहविरुद्ध आसिफ शेखले लगातार तीनवटा छक्का प्रहार गर्दै नेपालको इनिङ्सलाई तीव्र गति दिएका थिए। हाल नेपालको रनरेट १५.८३ रहेको छ।
जेठ २१, २०८३ बिहीबार १२:५२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।