आईपीएल उपाधि जितेपछि आरसीबीका टिम डेभिडमाथि कारबाही, आगामी सिजनको पहिलो खेल गुमाउने

आईपीएल उपाधि जितेपछि आरसीबीका टिम डेभिडमाथि कारबाही, आगामी सिजनको पहिलो खेल गुमाउने

एजेन्सी : रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले आईपीएल २०२६ को फाइनल उपाधि जितेको छ।

तर, उपाधि जिते लगत्तै टोलीका ब्याट्सम्यान टिम डेभिडमाथि कारबाही भएको छ। उनलाई आईपीएल २०२७ को पहिलो खेलका लागि निलम्बन (सस्पेन्ड) गरिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा टिम डेभिडले गुजरात टाइटन्सको ब्याटिङका क्रममा १०औँ ओभरमा अम्पायर नितिन मेननतर्फ ‘आइस ब्याग’ फ्याँकेका थिए। यसलाई खेल आचारसंहिताको ‘लेभल-१’ को उल्लंघन मानिएको छ।

डेभिडलाई आईपीएल आचारसंहिताको धारा २.९ उल्लंघन गरेकोमा दोषी पाइएको हो। यस नियम अनुसार खेलका क्रममा बल वा अन्य कुनै सामग्री कुनै खेलाडी, टोलीका पदाधिकारी, अम्पायर वा म्याच रेफ्रीतर्फ गलत र खतरनाक तरिकाले फ्याँक्नु नियमविपरीत मानिन्छ।

यस व्यवहारका कारण टिम डेभिडलाई म्याच फीको ५० प्रतिशत जरिवाना समेत गरिएको छ। साथै, उनलाई दुई डिमेरिट अंक पनि दिइएको छ। योसँगै यस सिजनमा उनको कुल डिमेरिट अंक पाँच पुगेको छ।

नियम अनुसार कुनै पनि खेलाडीको पाँच डिमेरिट अंक पुगेमा उसलाई आगामी सिजनको पहिलो खेल खेल्न नपाउने गरी निलम्बन गरिन्छ।

जेठ १९, २०८३ मंगलबार ०७:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।