विराट कोहलीको उत्कृष्ट प्रदर्शनसँगै आरसीबीले जित्यो दोस्रो पटक आईपीएलको उपाधि
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणको फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) लाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको छ।
गुजरातले दिएको १५६ रनको लक्ष्यलाई आरसीबीले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। आरसीबीको यस जितमा विराट कोहली नायक बने, जसले अविजित ७५ रनको महत्त्वपूर्ण पारी खेले।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको यस खेलमा आरसीबीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो।
गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा ५० रनको अविजित अर्धशतकीय पारी खेलेर टोलीको स्कोरलाई सम्मानजनक स्थानमा पुर्याए।
आरसीबीलाई लगातार दोस्रो पटक उपाधि दिलाउन बलरहरूको भूमिका महत्त्वपूर्ण रह्यो। बलर रसिख सलाम डारले ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २/२ विकेट लिए।
यसअघिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका गुजरातका प्रारम्भिक ब्याटर शुभमन गिल (१० रन) र साई सुदर्शन (१२ रन) यस खेलमा सस्तैमा आउट भए। जोस बटलरले १९ रन र निशान्त सन्धुले २० रनको योगदान दिए।
आरसीबीको कसिलो बलिङका अगाडि गुजरातका ब्याटरहरूले सहज रूपमा रन बनाउन सकेनन् र टोलीले नियमित अन्तरालमा विकेट गुमायो।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा आरसीबीलाई वेंकटेश अय्यरले आक्रामक सुरुवात दिलाए। उनले १६ बलमा ३२ रन बनाए। देवदत्त पडिक्कल (१ रन) र कप्तान रजत पाटीदार (१५ रन) चाँडै आउट भए पनि विराट कोहलीले एकतर्फबाट इनिङ्सलाई बलियोसँग अगाडि बढाए।
कोहलीलाई मध्यक्रममा टिम डेभिडले १७ बलमा २४ रन बनाएर साथ दिए। विकेटहरू झर्ने क्रम जारी रहे पनि कोहली क्रिजमा टिकिरहे र टोलीलाई जिताएर मात्र मैदानबाहिर फर्किए। गुजरातका बलर राशिद खानले दुई विकेट लिए पनि आरसीबीलाई रोक्न पर्याप्त भएन।
यो आरसीबीको लगातार दोस्रो आईपीएल उपाधि हो। यसअघि गुजरात टाइटन्सले सन् २०२२ मा आफ्नो पहिलो सहभागितामै उपाधि जितेको थियो।
फाइनल पुग्ने क्रममा आरसीबीले पहिलो क्वालिफायरमा गुजरातलाई नै हराएको थियो भने गुजरातले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।
जेठ १८, २०८३ सोमबार ०७:३३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।