आईपीएल २०२६ : ओरेन्ज क्यापको रेसमा सूर्यवंशीको अग्रता कायमै, गिल ५४ रनले पछाडि

आईपीएल २०२६ : ओरेन्ज क्यापको रेसमा सूर्यवंशीको अग्रता कायमै, गिल ५४ रनले पछाडि

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को दोस्रो क्वालिफायर खेलमा गुजरात टाइटन्स (जीटी) र राजस्थान रोयल्स (आरआर) बीच रोमाञ्चक भिडन्त भयो।

न्यु चण्डीगढमा शुक्रबार राति भएको यस खेलमा ब्याटिङतर्फ ‘ओरेन्ज क्याप’ (सर्वाधिक रन बनाउने ब्याटर) र बलिङतर्फ ‘पर्पल क्याप’(सर्वाधिक विकेट लिने बलर) को दौड निकै रोचक मोडमा पुगेको छ।

यस सिजनको ओरेन्ज क्यापको दौडमा अगाडि रहेका तीन ब्याटरहरू वैभव सूर्यवंशी, शुभमन गिल र साई सुदर्शन हिजोको खेलमा आमनेसामने भएका थिए।

राजस्थानका युवा ब्याटर सूर्यवंशीले ४७ बलमा ९६ रनको उत्कृष्ट इनिङ खेले। उनी यस सिजनमा दोस्रो शतक बनाउनबाट चुके पनि उनको टोली प्रतियोगिताबाट बाहिरिएको छ। उनले २३७.३० को उत्कृष्ट स्ट्राइक रेटमा कुल ७७६ रन बनाउँदै आफ्नो यस सिजनको यात्रा टुङ्ग्याए।

खेलको मुख्य आकर्षण गुजरातका कप्तान शुभमन गिल बने। उनले ५३ बलमा १०४ रनको सानदार शतकीय इनिङ खेल्दै गुजरातलाई फाइनलमा पुर्याए।

यस इनिङसँगै गिलको यस सिजनको कुल रन ७२२ पुगेको छ। सूर्यवंशीभन्दा उनी ५४ रनले पछाडि छन्, तर गिलले आइतबार फाइनल खेल खेल्न बाँकी नै छ।

सुदर्शनले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ५८ रन बनाए। उनले गिलसँग मिलेर पहिलो विकेटका लागि १६७ रनको बलियो साझेदारी गरे।

तर, उनी लगातार दोस्रो खेलमा ‘हिट विकेट’ आउट हुन पुगे। सुदर्शनको यस सिजनमा कुल ७१० रन पुगेको छ र उनलाई पनि फाइनलमा रन थप्ने मौका छ।

आइतबार हुने फाइनल खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) को सामना गर्नेछ। आरसीबीका विराट कोहली हालसम्म ६०० रनका साथ आफ्नो टोलीका तर्फबाट शीर्ष स्थानमा छन्।

बलिङतर्फ गुजरातका कागिसो रबाडाले बेंगलोरका भुवनेश्वर कुमारलाई पछि पार्दै ‘पर्पल क्याप’ हात पारेका छन्।

राजस्थानविरुद्धको खेलमा ध्रुव जुरेल र वैभव सूर्यवंशीको विकेट लिँदै रबाडाले यस सिजनमा आफ्नो विकेट सङ्ख्या २८ पुर्याएका छन्। उनी दोस्रो स्थानमा रहेका भुवनेश्वर कुमार (२६ विकेट) भन्दा दुई विकेटले अगाडि छन्। आइतबारको फाइनल खेलमा यी दुई बलरबीच कडा प्रतिस्पर्धा हुनेछ।

आर्चरले गुजरातविरुद्ध ४५ रन खर्चेर १ विकेट मात्र लिन सके। उनले यस सिजनमा कुल २५ विकेट लिँदै तेस्रो स्थानमा रहेर आफ्नो यात्रा टुङ्ग्याएका छन्।

गुजरातका मुख्य स्पिनर रसिद खान निकै महँगो साबित हुँदै विकेटविहीन (२ ओभरमा ४५ रन) रहे भने जेसन होल्डरले ४ ओभरमा २७ रन दिएर २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।

जेठ १६, २०८३ शनिबार ११:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।