खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड विनियोजन : प्रमुख ८ शहरमा क्रिकेट रङ्गशाला र खेलाडीलाई आजीवन स्वास्थ्य उपचार

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड विनियोजन : प्रमुख ८ शहरमा क्रिकेट रङ्गशाला र खेलाडीलाई आजीवन स्वास्थ्य उपचार

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत खेलकुद क्षेत्रको विकास, अत्याधुनिक रङ्गशाला पूर्वाधारको निर्माण र खेलाडीहरूको सामाजिक सुरक्षाका लागि महत्त्वपूर्ण कार्यक्रमहरू घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रको समूचित विकासका लागि कुल ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेट वक्तव्यअनुसार देशका प्रमुख ८ वटा शहरहरूमा अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाइनेछ।

यसका साथै देशका विभिन्न स्थानमा रहेका ८ हजार दर्शक क्षमताका १० वटा रङ्गशालाहरूलाई रात्रिकालीन खेलहरू समेत खेलाउन मिल्ने गरी फ्लडलाइट जडानसहित स्तरोन्नति गरिने भएको छ।

लामो समयदेखि निर्माण र योजनाको चरणमा रहेका काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला र कैलालीको फाप्ला रङ्गशालाको डिजाइन मूल्याङ्कन गरी निर्माण कार्यका लागि उपयुक्त लगानी मोडालिटी (साझेदारी ढाँचा) तयार गरिने बजेटमा उल्लेख छ।

खेलकुदमा नवप्रतिभाहरूलाई उजागर गर्न सरकारले आधारभूत तहदेखि नै विशेष कार्यक्रम ल्याएको छ।

खेलकुद विधामा राम्रो क्षमता र सम्भावना भएका बालबालिका तथा विद्यार्थीहरूलाई आधारभूत तहदेखि नै छनोट गरी आवासीय सुविधा (हस्टल) सहित खेल सम्बन्धी विशेष तालिम र प्रशिक्षण दिइने व्यवस्था मिलाइएको छ।

देशको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च राख्ने खेलाडीहरूको योगदानको कदर गर्दै सरकारले कल्याणकारी कार्यक्रम घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जित्न सफल खेलाडीहरूलाई खेल जीवनबाट अवकाश पाएपछि सम्मानजनक जीवनयापन गर्न सघाउने उद्देश्यले सरकारले आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ।

जेठ १५, २०८३ शुक्रबार १७:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।