सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झण्डा
काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा नेपाल प्रिमियर लिगको टोली ‘पोखरा एभेन्जर्स’को झण्डा फहराएको छ।
पर्वतारोही तथा पथप्रदर्शक पासाङ काजी शेर्पाले २३ मे २०२६ का दिन बिहान ३:५० बजे सगरमाथाको चुचुरोमा ‘पोखरा एभेन्जर्स’को झण्डा फहराएका हुन्।
नेपाल राष्ट्रिय पर्वतीय गाइड एशोसिएशन र इन्टरनेसनल फेडरेशन अफ माउन्टेन गाइड एशोसिएशनबाट प्रमाणित पर्वतीय गाइड एवं चलचित्र निर्माता समेत रहेका शेर्पाको यो आठौं पटकको सफल सगरमाथा आरोहण हो।
गत ११ अप्रिल २०२६ देखि सुरू भएको यस अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने क्रममा उनले सगरमाथाको शिखर चुमेका थिए।
यसअघि उनले केटु, चो ओयु, मनास्लु लगायत छ हजार र सात हजार मिटरभन्दा अग्ला दर्जनौं हिमालहरूको सफल आरोहण गरिसकेका छन्।
नेपालको लोकप्रिय खेलकुदको माध्यमबाट जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे विश्वव्यापी चेतना जगाउने उद्देश्यका साथ सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराइएको हो।
पोखरा एभेन्जर्सले स्थापनाकालदेखि नै नेपाली खेलकुद र ग्रासरुट क्रिकेटको विकासका साथै पर्यावरण र हिमाली क्षेत्रको संरक्षण सम्बन्धी मुद्दाहरूलाई प्राथमिकता दिँदै आएको छ।
अभियानका बारेमा बोल्दै पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘हामी यो अभियानलाई केवल शिखरमा पुग्ने कुरामा मात्र सीमित नराखी कुनै ठूलो उद्देश्यका लागि समर्पित गर्न चाहन्थ्यौँ। यो हाम्रो हिमनदी संरक्षणको महत्त्व बुझाउन र जलवायु परिवर्तनबारे चेतना जगाउनुका साथै क्रिकेटको विकासलाई प्रोत्साहन गर्ने एउटा आह्वान हो।’
जेठ १३, २०८३ बुधबार ०९:४४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।