क्यानले गर्यो ६३ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, मासिक तलब र म्याच फी कति ?
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ।
क्यानले सोमबार ३८ जना पुरुष र २५ जना महिला गरी ६३ जना खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी मासिक पारिश्रमिक र म्याच फी निर्धारण गरेको हो।
पुरुषतर्फ क्यानले पाँच वटा श्रेणीमा खेलाडीहरूलाई वर्गीकरण गरेको छ। सबैभन्दा माथिल्लो ए प्लस श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्। उनीहरूले मासिक १ लाख २० हजार रुपैयाँ तलब प्राप्त गर्नेछन्।
यस्तै, श्रेणी एमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन्। उनीहरूको मासिक तलब १ लाख रुपैयाँ तोकिएको छ। श्रेणी बीमा ललित नारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्सन झा रहेका छन्। उनीहरूले मासिक ७५ हजार प्राप्त गर्नेछन्।
त्यस्तै, श्रेणी सीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह रहेका छन्। श्रेणी सीमा रहेका ११ जनालाई ५५ हजार र श्रेणी डी (डेभलपमेन्ट)मा १५ जना खेलाडीलाई मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक दिने क्यानले निर्णय गरेको छ।
महिलातर्फ चार वटा श्रेणीमा वर्गीकरण गरिएको छ। श्रेणी एमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर रहेका छन्। उनीहरूले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।
यसैगरी, श्रेणी बीमा रहेका कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्यायले मासिक तलब ४० हजार, श्रेणी सीमा रहेका ४ जना विन्दु रावल, कविता जोशी, रुबी पोदार र रिया शर्माको ३० हजार तलब रहेको छ। त्यस्तै श्रेणी डीमा रहेका १४ जना खेलाडीको मासिक पारिश्रमिक २५ हजार रुपैयाँ कायम गरिएको छ।
म्याच फीको व्यवस्था
क्यानले पुरुष र महिला दुवै टोलीका खेलाडीहरूका लागि समान म्याच फीको व्यवस्था गरेको छ। जसअनुसार एक दिवसीय अन्तर्राष्ट्रियका लागि प्रति खेल १५ हजार रुपैयाँ र टी-२० अन्तर्राष्ट्रियका लागि प्रति खेल १० हजार रुपैयाँ म्याच फी निर्धारण गरिएको छ।

जेठ ११, २०८३ सोमबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।