विहान परेको पानीले नेपाल र अमेरिकाबीचको खेल प्रभावित, टस हुन ढिलाइ

विहान परेको पानीले नेपाल र अमेरिकाबीचको खेल प्रभावित, टस हुन ढिलाइ
फाइल तस्बिर

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र संयुक्त राज्य अमेरिका (युएसए) बीचको १०८औं खेलमा टस हुन ढिलाइ भएको छ।

शुक्रबार विहानीपख परेको पानीका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर भिजेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो।

पूर्वनिर्धारित तालिका अनुसार बिहान ९ बजे टस हुनुपर्ने थियो। तर, मैदान ओसिलो भएका कारण टस समयमा हुन सकेन र खेल समयमै सुरु नहुने निश्चित भएको छ।

खेल मैदानको अवस्था निरीक्षण गरेपछि मात्र टस र खेल सुरु हुने नयाँ समय तय गरिनेछ।

जारी लिग-२ को अंक तालिकामा अमेरिका बलियो स्थितिमा छ। अमेरिका २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ।

अर्कोतर्फ, घरेलु टोली नेपाल २७ खेलमा १० जित, १५ हार र २ नतिजाविहीन खेल खेल्दै २२ अंकका साथ पाँचौं स्थानमा छ।

यी दुई टोलीबीच गत मे १६ मा भएको पछिल्लो भेटमा नेपाल ९ विकेटले विजयी भएको थियो। त्यसअघिका खेलहरूमा भने अमेरिकी टोली तुलनात्मक रूपमा हाबी देखिँदै आएको थियो।

मैदान खेलयोग्य बनाउन मैदानका कर्मचारीहरू प्रयासरत छन् र मौसम अनुकूल भएमा केही ओभर घटाई खेल सुरु गराउने प्रयास गरिनेछ।

जेठ ८, २०८३ शुक्रबार ०९:१६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।