स्कटल्यान्डलाई ६ विकेटले हराउँदै पाँचौं स्थानमा उक्लियो नेपाल

स्कटल्यान्डलाई ६ विकेटले हराउँदै पाँचौं स्थानमा उक्लियो नेपाल

काठमाडौं : स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीको कसिलो बलिङ तथा कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेको साझेदारीको मद्दतले नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा स्कटल्यान्डमाथि ६ विकेटको जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै नेपाल २७ खेलबाट २२ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

ललित र सन्दीप हाबी भएपछि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड १९४ रनमा अलआउट हुन पुग्यो। सन्दीपले यस खेलमा कुल ३ विकेट लिए। त्यस्तै, अर्का स्पिनर ललित राजवंशीले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १-१ विकेट लिए।

१९५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआती ब्याटिङ सुखद रह्यो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे। आसिफ १७ बलमा २९ रन बनाउँदै रनआउट भए भने कुशल २८ रनमा एलबीडब्लू धरापमा परे।

त्यसपछि कप्तान रोहित पौडेल र इशान पाण्डेले तेस्रो विकेटका लागि १०४ रनको निर्णायक शतकीय साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरे। आफ्नो दोस्रो ओडिआई खेल खेलिरहेका इशानले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। 

कप्तान रोहित ७४ रनमा अविजित रहे। उनले ९८ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे। आरिफ शेख ८ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको थियो। स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान दिए। 

त्यस्तै, माइकल इङ्लिसले ५१ रन जोडे भने ओपनर जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए। अन्य ब्याटरले भने नेपाली बलरसामु दोहोरो अङ्क जोड्न सकेनन्। जारी शृङ्खलामा नेपालको यो दोस्रो जित हो। नेपालले अब शृङ्खलाको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।

जेठ ४, २०८३ सोमबार १५:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।