विश्वकप लिग-२ : ललित र सन्दीप चम्किएपछि स्कटल्याण्ड १९४ रनमा समेटियो

विश्वकप लिग-२ : ललित र सन्दीप चम्किएपछि स्कटल्याण्ड १९४ रनमा समेटियो

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै स्कटल्याण्डलाई १९४ रनमा समेटेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा सीमित भएको हो।

नेपालका लागि स्पिनर ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले ८ ओभरमा मात्र ३२ रन खर्चिए।

त्यस्तै, सन्दीप लामिछानेले १० ओभरमा ४७ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १-१ विकेट हात पारे।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७३ रन बनाए। उनले मात्र ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे।

अर्का ब्याटर माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। कप्तान रिची बेरिंग्टन १२ रनमा आउट भए।

सुरुवातमा आक्रामक देखिएको स्कटल्याण्डलाई मध्यक्रममा ललित र सन्दीपले लगातार विकेट लिँदै दबाबमा राखेका थिए। एक समय १८.४ ओभरमा १०७/३ को बलियो अवस्थामा रहेको स्कटल्याण्डले अन्तिम ७ विकेट मात्र ८७ रन थप्दा गुमाएको थियो।

नेपालले अब यो खेल जित्नका लागि १९५ रनको लक्ष्य पाएको छ। आजको खेलमा जित हात पारे नेपालको विश्वकप छनोटको सम्भावना थप बलियो हुनेछ। कीर्तिपुर मैदानमा अहिले केही बेरमा नेपालले जवाफी ब्याटिङ सुरु गर्नेछ।

जेठ ४, २०८३ सोमबार १२:३४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।