कुशल भुर्तेलको विष्फोटक शतक : अमेरिकाविरुद्ध नेपालको ९ विकेटको सानदार जित

कुशल भुर्तेलको विष्फोटक शतक : अमेरिकाविरुद्ध नेपालको ९ विकेटको सानदार जित

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए। भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेटिएको हो। उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन्। आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।

यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो। नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए। उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन्। शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रहार गर्दै ५० रन बनाएर आउट भएका हुन्।

यो जितसँगै सातौं स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ। छैटौं स्थानमा रहेको क्यानडाको २१, पाँचौं स्थानमा रहेको नामिबियाको २२ अङ्क छ। खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अङ्क बनाएको छ भने स्कटल्यान्ड ३८ अङ्कसहित खेल तालिकाको अग्र स्थानमा छ।

जेठ २, २०८३ शनिबार १६:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।