दीपेन्द्रको घातक बलिङले अमेरिका १९५ रनमा समेटियो, नेपाललाई १९६ रनको लक्ष्य

दीपेन्द्रको घातक बलिङले अमेरिका १९५ रनमा समेटियो, नेपाललाई १९६ रनको लक्ष्य

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको खेलमा नेपालले अमेरिकालाई १९५ रनमा अलआउट गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३.३ ओभरमा १९५ रन जोड्दै समेटिएको हो।

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै अमेरिकाको मध्यक्रम र तल्लोक्रम ध्वस्त पारे। उनले ७.३ ओभरमा मात्र २४ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए।

अमेरिकाको सुरुवात औषत रहे पनि ओपनर स्मित पटेल र शहन जयसूर्याले दोस्रो विकेटका लागि बलियो साझेदारी गर्दै टोलीलाई ठूलो योगफलतर्फ डोर्याएका थिए। स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ८३ रनको इनिङ खेले। त्यस्तै, शहन जयसूर्याले ५२ बलमा ५० रनको योगदान दिए।

२२.४ ओभरमा जयसूर्या आउट हुँदा अमेरिकाको स्कोर १२२-२ को बलियो स्थितिमा थियो। तर, त्यसपछि नेपाली बलरहरू खेलमा हाबी भए। कप्तान साइतेजा मुक्कामल्ला ४ रन, मिलिन्द कुमार २८ रन र हरमीत सिंह १४ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएर अमेरिकाको इनिङलाई सस्तोमा समेट्न मुख्य भूमिका खेले। उनलाई तीव्र गतिका बलर सोमपाल कामीले राम्रो साथ दिए। सोमपालले ७ ओभरमा ३५ रन दिएर २ विकेट लिए। 

यस्तै, सन्दीप लामिछाने र गुल्सन झाले समान १-१ विकेट हात पारे। अमेरिकाका दुई ब्याटर रन आउट भएका थिए। सन्दीपले १० ओभरको स्पेलमा १ मेडन राख्दै ४१ रन खर्चेर १ विकेट लिए। ललित राजवंशीले ९ ओभरमा किफायती बलिङ गर्दै मात्र ३५ रन दिए पनि विकेट भने लिन सकेनन्।

आजको खेलमा नेपालका तर्फबाट इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन्। नेपालले अब केही बेरमा १९६ रनको लक्ष्य पछ्याउँदै आफ्नो जवाफी ब्याटिङ सुरु गर्नेछ।

जेठ २, २०८३ शनिबार १२:५०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।