अमेरिकाविरुद्ध नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको १०५औं खेलमा आज नेपालले अमेरिकाविरुद्ध टस हारेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको यस खेलमा भ्रमणकारी टोली अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले केही बेरमा बलिङ सुरु गर्दैछ। आजको खेलका लागि नेपालले आफ्नो प्लेइङ ११ मा तीनवटा महत्त्वपूर्ण परिवर्तन गरेको छ।
टोलीमा युवा ब्याटर इशान पाण्डेले ओडीआई डेब्यु गरेका छन्। उनलाई अनुभवी खेलाडी करण केसीले डेब्यु क्याप प्रदान गरेका हुन्।
इशानसँगै टोलीमा ओपनर कुशल भुर्तेल र अनुभवी तीव्र गतिका बलर सोमपाल कामी फर्किएका छन्।
यसअघि टोलीमा रहेका अर्जुन कुमाल, विनोद भण्डारी र करण केसीलाई आराम दिइएको छ।
रोहित पौडेलको कप्तानीमा मैदान उत्रिएको नेपाली टोली घरेलु मैदान र दर्शकको साथमा अमेरिकालाई मध्यम योगफलमा रोक्ने लक्ष्यका साथ मैदानमा छ।
लिग-२ को अंक तालिकामा बलियो अवस्थामा रहेको अमेरिकाविरुद्ध नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
यस्तो छ नेपालको प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, इशान पाण्डे (डेब्यु), रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी।
जेठ २, २०८३ शनिबार ०९:१३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।