इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग चाहिँदैन : राष्ट्रपति ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन्।
भ्रमणमा निस्कनुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँगको तनाव समाधान गर्न वा युद्ध अन्त्य गर्न आफूलाई चीनको सहयोग आवश्यक नरहेको स्पष्ट पारेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विभिन्न महत्त्वपूर्ण विषयमा विस्तृत छलफल गर्ने बताए। तर, इरानको विषय आफ्नो मुख्य कार्यसूची (एजेन्डा) मा नरहेको उनले दाबी गरे।
‘हामीसँग छलफलका लागि धेरै विषयहरू छन्। साँचो भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिलेदेखि नै हाम्रो नियन्त्रणमा छ’, ट्रम्पले भने।
इरानलाई कडा चेतावनी दिँदै उनले अगाडि थपे, ‘या त हामी एउटा सम्झौतामा पुग्नेछौँ, नत्र उनीहरू (इरान) समाप्त हुनेछन्।’
चीनको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहनेछन्।
झण्डै नौ वर्षपछि अमेरिकी राष्ट्रपतिबाट हुन लागेको यो पहिलो चीन भ्रमण हो। यसअघि यो भ्रमण मार्च महिनामै हुने तय भए तापनि मध्यपूर्वमा चुलिएको तनावका कारण स्थगित गरिएको थियो।
ट्रम्पको यो भ्रमणलाई विश्व राजनीति र अमेरिका-चीन व्यापारिक सम्बन्धका दृष्टिले निकै महत्त्वका साथ हेरिएको छ।
वैशाख ३०, २०८३ बुधबार ०८:०८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।