कीर्तिपुरमा स्कटल्याण्डले टस जित्यो

कीर्तिपुरमा स्कटल्याण्डले टस जित्यो

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको महत्वपूर्ण खेलमा आज घरेलु टोली नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्याण्डले जित निकालेको छ।

स्कटल्याण्डका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्। बिहान ९:३० बजे सुरु हुन लागेको यस खेलमा नेपालले भने पहिले बलिङको निम्तो पाएको छ।

कीर्तिपुरको मैदानमा बिहानीको समयमा फास्ट बलरहरूले केही मद्दत पाउने अपेक्षा गरिएको छ, जसको फाइदा उठाउन नेपाली बलरहरू तयार देखिएका छन्।

आजको खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक र कप्तानले ओ‌मानविरुद्ध खेलेको टोलीलाई निरन्तरता दिएका छन्।

टोलीको सन्तुलन र हालको प्रदर्शनलाई मध्यनजर गर्दै प्लेइङ-११ मा कुनै परिवर्तन गरिएको छैन। घरेलु दर्शकको उल्लेख्य उपस्थितिका बीच मैदान उत्रिएको नेपाली टोली आज स्कटल्याण्डलाई सस्तैमा समेट्ने दाउमा छ।

अंक तालिकामा दोस्रो स्थानमा रहेको स्कटल्याण्ड आजको खेल जितेर आफ्नो स्थिति थप मजबुत बनाउन चाहन्छ। अर्कोतर्फ, सातौँ स्थानमा रहेको नेपालका लागि घरेलु मैदानमा जित निकाल्दै तालिकामा सुधार गर्न यो खेल निकै महत्त्वपूर्ण छ।

ऐतिहासिक रूपमा स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन कीर्तिपुरमा राम्रो रहँदै आएको छ। पछिल्ला ५ भेटमा ३ खेल नेपालले जितेको हुनाले पनि नेपाली खेलाडीहरूको मनोबल उच्च देखिन्छ।

वैशाख २९, २०८३ मंगलबार ०९:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।