खेलकुदलाई अर्थतन्त्र र पर्यटनसँग जोड्ने सरकारको नीति, खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने
काठमाडौं : सरकारले खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र देशको अर्थतन्त्रसँग जोडेर अगाडि बढाउने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खेलकुदको समग्र विकास र खेलाडीको सुरक्षामा जोड दिइएको हो।
नीति तथा कार्यक्रमको बुँदा नम्बर ४९ मा उल्लेख भएअनुसार, सरकारले ग्रासरुटबाटै खेलाडी उत्पादन गर्न ‘विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ। यसले विद्यालय स्तरमा लुकेर रहेका खेल प्रतिभाहरूलाई राष्ट्रिय मूलधारमा ल्याउन मद्दत पुग्नेछ।
त्यसैगरी, खेलकुद क्षेत्रलाई उद्योग र व्यवसायका रूपमा विकास गर्न ‘खेल क्षेत्रको व्यावसायीकरण’ गर्ने र यसमा ‘निजी क्षेत्रको सहभागिता’ सुनिश्चित गर्ने योजना सरकारले अघि सारेको छ। खेलकुदमा निजी क्षेत्रको लगानी भित्र्याएर यसलाई आत्मनिर्भर र दिगो बनाउने सरकारको लक्ष्य रहेको देखिन्छ।
नीति तथा कार्यक्रमले खेलाडीहरूको भविष्यलाई लिएर महत्त्वपूर्ण घोषणा पनि गरेको छ। खेलकुदमा लागेका 'खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने' कुरा नीति तथा कार्यक्रममा स्पष्ट पारिएको छ।
यसले खेल क्षेत्रमा लागेर देशको नाम चिनाउने खेलाडीहरूको भविष्य सुरक्षित गर्न र नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यसका साथै, खेलकुद र युवासँग सम्बन्धित रहेर सरकारले 'राष्ट्रिय स्वयंसेवक कार्यक्रम' सञ्चालन गर्ने भएको छ। जसअन्तर्गत युवाहरूलाई डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासका कार्यमा परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
वैशाख २८, २०८३ सोमबार १८:०४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।