सात वर्षपछि राष्ट्रिय टोलीमा इशान पाण्डेको पुनरागमन
काठमाडौं : नेपाली क्रिकेटका देब्रेहाते ब्याटर इशान पाण्डे झन्डै सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार स्कटल्याण्ड र अमेरिकाविरुद्धको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गर्दा इशानले पुनरागमन गरेका हुन्।
सन् २०१९ मा ओमानविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका इशानले निरन्तरको मेहनत र घरेलु क्रिकेटमा देखाएको उत्कृष्ट लयका कारण फेरि राष्ट्रिय जर्सी लगाउने अवसर पाएका हुन्। क्यानले अलराउन्डर बसीर अहमदको स्थानमा इशानलाई टोलीमा समावेश गरेको हो।
इशानको पुनरागमनमा पछिल्लो एक वर्षको प्रदर्शन निर्णायक मानिएको हो। उनी घरेलु क्रिकेटका हरेक प्रतियोगितामा नियमित रूपमा सक्रिय रहँदै आएका थिए।
पछिल्लो समय उनले जय ट्रफी र प्रधानमन्त्री कपमा लगातार रन जोड्दै चयनकर्ताहरूको ध्यान खिचेका थिए। घरेलु पिचमा परिपक्व ब्याटिङ गर्दै उनले आफूलाई ओपनिङ र माथिल्लो क्रमको भरपर्दो ब्याटरका रूपमा प्रमाणित गरे।
राष्ट्रिय टोलीमा पुन: प्रवेश पाउनुअघि उनले नेपाल एका लागि खेलेका खेलहरू नै पुनरागमनको मुख्य कडी बन्यो। नेपाल ए बाट खेल्ने क्रममा उनले बलिया प्रतिद्वन्द्वी ओमान र स्कटल्याण्डविरुद्ध उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेका थिए।
ती खेलहरूमा देखाएको आत्मविश्वास र दबाबका बीच रन बनाउन सक्ने क्षमताले उनलाई राष्ट्रिय टोलीका लागि योग्य सावित गर्यो।
वैशाख २७, २०८३ आइतबार ०७:१९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।