ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य, शतक बनाउन ६ रनले चुके आशिफ

ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य, शतक बनाउन ६ रनले चुके आशिफ
तस्बिरहरू- नेपाल क्रिकेट संघ क्यान

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा नेपालले ओमानलाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउँदै अलआउट भयो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेल्न नजिक पुगे पनि ९४ रनमा आउट भए।

नेपालको सुरुवात सुखद रहेन। ओपनर विनोद भण्डारी दोस्रो ओभरको पहिलो बलमै शून्य रनमा आउट भएपछि दबाबमा परेको नेपाललाई आसिफ शेख र अर्जुन कुमालले उकासेका थिए।

यी दुई ब्याटरबीच दोस्रो विकेटका लागि १२३ रनको महत्त्वपूर्ण साझेदारी भयो। अर्जुन कुमाल ८७ बलमा ४८ रन बनाएर आउट भए।

नेपालका लागि सर्वाधिक स्कोर गरेका आसिफ शेख ९७ बलमा ९४ रन बनाउँदै आउट भए। उनले आफ्नो पारीमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। उनी शतक बनाउनबाट मात्र ६ रनले चुके।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रनको योगदान दिए। कप्तान रोहित पौडेल भने व्यक्तिगत ९ रनमा आउट भए।

तल्लो क्रममा आरिफ शेखले विष्फोटक ब्याटिङ गर्दै नेपालको योगफल २५० पार गराउन मुख्य भूमिका खेले। उनले मात्र २४ बलमा ४ छक्का र १ चौकाको मद्दतले ४३ रन जोडे।

अन्तिम ओभरको पाँचौं बलमा उनी अन्तिम विकेटका रूपमा आउट भए। अन्य ब्याटरमा गुल्सन झाले १७ रन बनाउँदा करण केसी र ललित राजवंशीले खाता खोल्न सकेनन्। सन्दीप लामिछाने १ रनमा रनआउट भए।

ओमानका लागि नदीम खानले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ४१ रन खर्चिए। यस्तै, शकील अहमद र हसनैन शाहले २-२ विकेट लिए भने जितेन रामानन्दी र आर्यन विष्टले १-१ विकेट झारे।

ओमानले केहीबेरमा जवाफी ब्याटिङको तयारी गरिरहेको छ। ओमानका लागि बायाँहाते ब्याटर हसनैन उल वहबले आजको खेलबाट ओडीआई डेब्यु गरेका छन्।

वैशाख २२, २०८३ मंगलबार १३:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।