ओमानसँग अघिल्लो हारको बदला लिने दाउ, खेलाडी भन्छन्- ‘दबाबमा खेल्ने बानी परिसक्यो’
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत मंगलबार ओमानविरुद्ध हुने महत्त्वपूर्ण खेलमा आक्रामक प्रदर्शन गर्दै अघिल्लो हारको बदला लिने उद्घोष गरेका छन्।
आगामी एकदिवसीय विश्वकपको छनोट यात्रामा रहेको नेपालको पछिल्लो प्रदर्शन केही उतारचढावपूर्ण देखिएको छ।
घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई दुवै खेलमा हराएर लय समात्ने संकेत गरे पनि ओमानसँगको पहिलो भेटमा भने निराशाजनक हार व्यहोरेको थियो।
मंगलबार ओमानलाई हराएर सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल छ। यसका लागि टोली सकारात्मक सोच र आक्रामक रणनीतिका साथ मैदान उत्रिने उपकप्तान ऐरी बताउँछन्।
‘सुरुवाती दुई खेलमा हामीले राम्रो खेल्न सकेका थिएनौँ। तर, अहिले साझेदारीहरू राम्रो बन्न थालेका छन्। यसलाई सकारात्मक रूपमा लिएर अघि बढ्ने हो भने ओमानविरुद्ध हामी राम्रो नतिजा निकाल्न सक्छौँ’, ऐरीले भने।
पछिल्लो समय लयमा देखिएका ऐरीले आफ्नो व्यक्तिगत फर्म र टोलीका अन्य ब्याटरको संघर्षबारे पनि स्पष्ट पारे।
‘अन्य खेलाडीहरूको त्यति रन बनिरहेको छैन। सायद म आफ्नो प्रदर्शनमा अलि बढी फोकस भएकाले राम्रो गरिरहेको छु। यसअघि मेरो पनि रन बनिरहेको थिएन’, उनले थपे।
लिग-२ को अंकतालिकामा नेपाल हाल सातौं स्थानमा छ। एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाउन नेपालले यो लिग साइकलको अन्त्यसम्ममा शीर्ष चारभित्र पर्नुपर्ने हुन्छ। यो साइकलमा हालसम्म जम्मा ७ जित मात्र निकालेको नेपालका लागि आगामी हरेक खेल निकै महत्त्वपूर्ण छन्।
यस्तो कठिन अवस्थामा पनि कप्तान रोहित पौडेलले भने हरेस खाएका छैनन्। मंगलबार ओमानविरुद्ध निकालिने जितले टोलीलाई आवश्यक आत्मविश्वास प्रदान गर्ने उनको विश्वास छ।
‘दबाबमा खेल्ने त हाम्रो बानी नै परिसकेको छ। त्यसैले हामी यो खेल जित्नेमा पूर्ण आशावादी छौँ’, कप्तान पौडेलले भने।
अघिल्लो लिग-२ साइकलको अन्त्यतिर ऐतिहासिक पुनरागमन गर्दै ११ खेल जितेर विश्वकप छनोटमा पुगेको क्षण स्मरण गर्दै कप्तान पौडेलले खेलाडीहरूको मनोबल उच्च रहेको दाबी गरे।
उनले भने, ‘अघिल्लो साइकलमा लगातार ११ खेल जिताउन भूमिका खेल्ने खेलाडीहरू नै आज पनि यो टोलीमा छन्। हामीले त्यो स्तरको दबाब पहिल्यै झेलिसकेका छौँ। त्यसैले आगामी खेलहरू हाम्रा लागि अझ बढी महत्त्वपूर्ण हुनेछन्।’
वैशाख २१, २०८३ सोमबार ११:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।