रिकेल्टनको शतकका बावजुद आईपीएलमा मुम्बईको छैटौं हार, हैदरावाद ६ विकेटले विजयी
मुम्बई : इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा मुम्बई इन्डियन्सले छैटौँ हार व्यहोरेको छ।
बुधबार आफ्नो घरेलु मैदान वानखेडे स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो। योसँगै मुम्बईले घरेलु मैदानमा लगातार चौथो हार भोगेको छ भने हैदरावादले सिजनमा लगातार पाँचौँ जित दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल योगफल तयार पारेको थियो।
मुम्बईका ओपनर रायन रिकेल्टनले उत्कृष्ट प्रदर्शन गर्दै ५५ बलमा अविजित १२३ रनको शतकीय पारी खेले। उनको पारीमा १० चौका र ८ छक्का समावेश थिए। यद्यपि, उनको यो शतकले टोलीको हार टार्न सकेन।
मुम्बईका लागि अन्य ब्याटरमा विल ज्याक्सले ४६ र कप्तान हार्दिक पाण्ड्याले ३१ रनको योगदान दिए। बलिङतर्फ हैदरावादका प्रफुल्ल हिंगेले २ विकेट लिए भने इशान मलिङ्गा, साकिब हुसेन र नीतिश कुमार रेड्डीले एक-एक विकेट हात पारे। कप्तान प्याट कमिन्स भने विकेटविहीन रहे।
२४४ रनको विशाल लक्ष्य हैदरावादले १८.४ ओभरमा मात्र ४ विकेट गुमाएर सजिलै पूरा गर्यो। हैदरावादको जितमा ओपनर ट्रयाभिस हेडले ७६ रनको अर्धशतकीय पारी खेले। उनले अभिषेक शर्मा (४५ रन) सँग मिलेर ५२ बलमा १२९ रनको उत्कृष्ट ओपनिङ साझेदारी गर्दै रन चेजलाई निकै सहज बनाएका थिए।
खेलको अन्त्यतिर हेनरिक क्लासेनले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले ३० बलमा ७ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए।
बलिङतर्फ मुम्बईका अल्लाह गजनफरले लगातार दुई बलमा अभिषेक शर्मा र इसान किसानलाई आउट गर्दै उत्कृष्ट लय देखाए पनि ह्याट्रिक भने पूरा गर्न सकेनन्।
यो जितसँगै सनराइजर्स हैदरावाद १२ अंकसहित आईपीएलको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। लगातार खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्स भने अंक तालिकाको नवौँ स्थानमा यथावत् छ।
वैशाख १७, २०८३ बिहीबार ०७:५८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।