अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढ्यो, ईभीलाई पुरानै

अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढ्यो, ईभीलाई पुरानै

काठमाडौं : यातायात व्यवस्था विभागले देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ।

विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो।

समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ।

भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मानिएको छ। विभागको स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने प्रावधान छ।

पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल यो ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागको भनाइ छ।

विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा  र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५-५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ।

यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरूमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ।

वातावरणमैत्री विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने सूचनामा उल्लेख छ। 

वैशाख १६, २०८३ बुधबार १२:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।