आत्मघाती आक्रमणमा मालीका रक्षामन्त्रीको मृत्यु, राष्ट्रपतिलाई सुरक्षित स्थानमा सारियो

आत्मघाती आक्रमणमा मालीका रक्षामन्त्रीको मृत्यु, राष्ट्रपतिलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी : पश्चिमी अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो कामाराको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ।

मालीको राजधानी बमाकोनजिकै रहेको उनको निवासमा भएको आत्मघाती ट्रक विस्फोटमा परी उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको बीबीसीले उल्लेख गरेको छ।

घटनाको केही घण्टापछि त्यहाँको सरकारी टेलिभिजनले पनि आक्रमणमा परी सुरुमा घाइते भएका कामाराको पछि मृत्यु भएको पुष्टि गरेको छ।

प्राप्त विवरणहरूका अनुसार, मालीका राष्ट्रपति असिमी गोइताको निवासलाई समेत लक्षित गरी आक्रमण प्रयास भएपछि उनलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।

यसैबीच, मालीको चरमपन्थी सङ्गठन ‘अजावाद लिबरेसन फ्रन्ट’ले दुई दिनको भिडन्तपछि मालीको सेनामा रहेका रुसी भाडाका सैनिकहरू किदाल शहरबाट पछि हट्न सहमत भएको दाबी गरेको छ। उक्त फ्रन्टले अहिले किदाल सहर पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको जनाएको छ।

पछिल्लो समय माली चरम हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ। राजधानी बमाकोसहित देशका विभिन्न सहरहरूमा चरमपन्थी समूहहरूले लगातार आक्रमण गर्दै आइरहेका छन्।

वैशाख १४, २०८३ सोमबार ११:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।