एन्फा र राखेप विवादबारे बोलिन् एन्जिला, भनिन्- ‘खेलकुदलाई राजनीतिको रणभूमि नबनाइयोस्’
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान तथा वर्तमान गोलकिपर एन्जिला तुम्बापो सुब्बाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादप्रति आक्रोश व्यक्त गरेकी छन्।
खेलकुदमा राजनीति र प्रशासनिक विवाद हावी हुँदा खेलाडीको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उनले खेलकुदलाई ‘प्रशासनिक दाउपेचको रणभूमि’ नबनाउन अपिल गरेकी छन्।
सामाजिक सञ्जालमार्फत एन्जिलाले राखेप र एन्फाको आन्तरिक कलहका कारण आगामी ‘साफ महिला च्याम्पियनसिप २०२६’ मा नेपालको सहभागिता नै संकटमा पर्नुलाई ‘खेलकुदकै उपहास’ भनेकी छन्।
‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेलभन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ’, उनले लेखेकी छन्।
प्रशासनिक अड्चनका कारण साफ च्याम्पियनसिपको तयारी प्रभावित भएकोप्रति इङ्गित गर्दै उनले अगाडि भनेकी छन्, ‘यी प्रशासनिक रोक र समयसीमाको उल्लङ्घन केवल कागजका कुरा होइनन्- यसको पछाडि हजारौं खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौंको मेहनत लुकेको हुन्छ।’
नेतृत्व तहको विवादले खेलाडीको भविष्यमा अन्धकार छाएको भन्दै उनले प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजनाविना खेलाडीहरू मैदानमा कसरी उत्रिने भन्दै नेतृत्वलाई प्रश्न गरेकी छन्।
एन्जिलाले नेपाल सरकार र एन्फाको ध्यानाकर्षण गराउँदै तुरुन्तै आपसी सहमति खोज्न आग्रह गरेकी छन्।
‘खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन,’ उनले अपिल गर्दै भनेकी छन्, ‘खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन।’
वैशाख ७, २०८३ सोमबार १३:०२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।