नेपाल र युएईबीचको पहिलो टी-२० आज कीर्तिपुरमा, साँझ ५ बजेबाट खेल सुरू हुने

नेपाल र युएईबीचको पहिलो टी-२० आज कीर्तिपुरमा, साँझ ५ बजेबाट खेल सुरू हुने

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई)को नेपाल भ्रमणअन्तर्गत आज नेपाल र युएईबीच पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

यो सिरिजको पहिलो खेल ‘डे-नाइट’ फर्म्याटमा खेलाइनेछ। अन्तर्राष्ट्रिय टी-२० इतिहासको ३८२०औं खेलका रूपमा दर्ता भएको यस भिडन्तमा दुवै टोली जितका साथ शृङ्खलामा सुखद सुरुवात गर्ने दाउमा छन्।

पछिल्ला पाँच खेलको नतिजा हेर्दा नेपालको अवस्था युएईको तुलनामा केही राम्रो देखिन्छ। नेपालले आफ्ना पछिल्ला ५ खेलमध्ये २ मा जित र ३ मा हार बेहोरेको छ। यता, युएईको प्रदर्शन भने केही खस्किएको छ। युएईले आफ्ना पछिल्ला ५ खेलमा मात्र १ जित निकाल्न सकेको छ भने ४ खेलमा पराजय भोगेको छ।

नेपाल र युएईबीचको क्रिकेट प्रतिद्वन्द्विता सधैं रोमाञ्चक हुने गरेको छ। यी दुई टोलीबीच भएका पछिल्ला ५ टी-२० भिडन्तको नतिजा हेर्दा नेपाल हाबी भएको देखिन्छ। पछिल्ला ५ भेटमध्ये नेपालले ३ खेल जितेको छ भने युएईले २ खेल आफ्नो पक्षमा पारेको छ।

पछिल्लो पटक १२ अक्टोबर २०२५ मा भएको भेटमा नेपालले युएईलाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको थियो। आज घरेलु मैदान र हजारौं दर्शकको साथ पाउने नेपाल सोही लयलाई निरन्तरता दिँदै युएईमाथि दबाब कायम राख्ने रणनीतिमा मैदान उत्रिनेछ। अहिले दुवै टोली मैदानमा उत्रनका लागि अन्तिम तयारीमा रहेका छन्।

वैशाख ७, २०८३ सोमबार ११:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।