बंगलादेशविरुद्धको टेस्टका लागि पाकिस्तानको टोली घोषणा : सरफराज मुख्य प्रशिक्षक, ४ नयाँ खेलाडी टोलीमा
एजेन्सी : आगामी महिना बंगलादेशमा हुने दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तानले १६ सदस्यीय टोली घोषणा गरेको छ।
पूर्वकप्तान सरफराज अहमद मुख्य प्रशिक्षक रहने यस टोलीमा चार नयाँ (अनक्याप्ड) खेलाडीहरू- अब्दुल्लाह फजल, अमाद बट, अजान ओवैस र गाजी घोरीलाई समावेश गरिएको छ।
यी चार नयाँ अनुहारमध्ये घोरीसँग मात्र अन्तर्राष्ट्रिय खेलको अनुभव छ। उनले गत महिना मिरपुरमा पाकिस्तानविरुद्ध एक एकदिवसीय खेल खेलेका थिए। टोलीको कप्तानी भने शान मसुदले नै निरन्तरता दिनेछन्।
यसपटक कप्तान मसुदले नयाँ प्रशिक्षण टोलीसँग काम गर्नेछन्। गत महिना मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका सरफराज मुख्य प्रशिक्षक बनेका छन्। उनकै कप्तानीमा पाकिस्तानले सन् २०१७ को च्याम्पियन्स ट्रफी जितेको थियो।
त्यस्तै, पूर्व टेस्ट क्रिकेटर असद शफिकले ब्याटिङ प्रशिक्षक र उमर गुलले बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। शफिकले ७७ टेस्टमा १२ शतकसहित ४,६६० रन बनाएका छन् भने गुलले पाकिस्तानका लागि २३७ खेल खेल्दै ४२७ विकेट लिएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार टोलीका ५ खेलाडी (ओवैस, इमाम-उल-हक, घोरी, नोमन अली र साजिद खान) हाल लाहोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेका छन्।
पाकिस्तान सुपर लिग २०२६ खेलिरहेका खेलाडीबाहेक अन्य सदस्यहरूले अप्रिल २७ देखि मे १ सम्म कराँचीमा हुने प्रशिक्षण क्याम्पमा सहभागिता जनाउनेछन्।
पीएसएल खेल्ने खेलाडीहरू लिग सकिएपछि मात्र टोलीमा जोडिनेछन्। टोली मे २ मा बंगलादेश प्रस्थान गर्नेछ भने मे ३ मा हुने पीएसएल फाइनल खेल्ने खेलाडीहरू त्यसलगत्तै बंगलादेश उड्नेछन्।
दुई देशबीचको पहिलो टेस्ट मे ८ देखि १२ सम्म ढाकामा र दोस्रो टेस्ट मे १६ देखि २० सम्म सिलेटमा खेलिनेछ।
वैशाख ५, २०८३ शनिबार ११:१२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।