लखनउलाई हराउँदै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा
एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ अन्तर्गत भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले लखनउ सुपर जायन्ट्स (एलएसजी) लाई सहजै हराएको छ।
लखनउलाई १४६ रनमा अलआउट गरेको बैंगलोरले उक्त लक्ष्य करिब ५ ओभर बाँकी छँदै पूरा गर्यो। यो सानदार जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
बैंगलोरको जितमा जोस हेजलवुड र क्रुणाल पाण्ड्याको उत्कृष्ट रक्षात्मक बलिङ मुख्य कारण बन्यो। उनीहरू दुवै मिलेर ३ विकेट मात्र लिए पनि विपक्षीलाई चरम दबाबमा राखेका थिए।
एउटा एन्डबाट उनीहरूले रन रोकेपछि दबाबमा आएका लखनउका ब्याटरहरूले गल्ती गरे र अर्को एन्डबाट अन्य बलरले विकेट लिए।
सुख्खा पिचमा हेजलवुडले निकै घातक बलिङ गरे। उनकै बलमा ठूलो सट खेल्न खोज्दा लखनउका ऋषभ पन्तको बायाँ कुहिनोमा चोट लाग्यो र उनी ‘रिटायर्ड हर्ट’ हुँदै मैदान बाहिरिए।
पछि १६औं ओभरमा टोली संकटमा पर्दा पुनः ब्याटिङ गर्न आएका पन्तले ६ बल खेलेर मात्र १ रन बनाए। यस्तै अर्का भरपर्दा ब्याटर निकोलस पुरन पनि हेजलवुडकै बलमा आउट भए।
यसै खेलबाट क्रुणाल पाण्ड्याले आइपिएलमा १०० विकेट पूरा गर्ने १२औं स्पिनरको कीर्तिमान बनाएका छन्।
उनले लखनउका लागि सर्वाधिक ४० रन बनाएर खेलिरहेका मिचेल मार्सलाई एक लो-आर्म डेलिभरीमा आउट गरे। मार्सले बल बाउन्स हुने सोचेका थिए, तर बलले बाउन्स नलिई उनको विकेट लियो।
हेजलवुड र क्रुणालले मिलेर २३ वटा डट बल फ्याँकेका थिए। उनीहरूले बनाएको दबाबको प्रत्यक्ष फाइदा रासिख सलाम र भुवनेश्वर कुमारले उठाए।
सलामले २४ रन दिएर ४ विकेट लिए भने भुवनेश्वरले २७ रन दिएर ३ विकेट हात पारे। जसका कारण लखनउले १७ देखि २० ओभरमा ५ विकेट गुमायो र १४६ रनमै समेटियो।
आफ्नो आइपिएल करियरमै पहिलो पटक ‘इम्प्याक्ट सब’का रूपमा मैदान छिरेका विराट कोहलीले सुरुबाटै आक्रामक खेल प्रस्तुत गरे। उनले सुरुवाती १४ बलमै ६ चौका र १ छक्काको मद्दतले ३२ रन बनाए।
पावरप्लेमा बैंगलोरले ६० रन जोडेको थियो। पछि लखनउका बलरले केही कसिलो बलिङ गरेपछि कोहलीले ३४ बलमा ४९ रन बनाएर आउट भए। यो सँगै कोहली प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बन्दै 'अरेन्ज क्याप' लगाउन सफल भएका छन्।
कोहलीपछि आएका रजत पाटीदारले निकै आक्रामक शैलीमा छक्काहरू प्रहार गरे। यस सिजन उनले सबैभन्दा धेरै २१ छक्का प्रहार गरिसकेका छन्।
लखनउको कमजोर रणनीतिको फाइदा उठाउँदै बैंगलोरले एक-दुई विकेट गुमाए पनि आफ्नो आक्रामक पहिचान कायम राख्दै सजिलै जित हात पार्यो।
वैशाख ३, २०८३ बिहीबार ०७:१३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।