आईपीएल डेब्युको पहिलो ओभरमै तीन विकेट लिएपछि प्रफुल्लले भने- सूर्यवंशीलाई आउट गर्नु ‘बेस्ट मोमेन्ट’

आईपीएल डेब्युको पहिलो ओभरमै तीन विकेट लिएपछि प्रफुल्लले भने- सूर्यवंशीलाई आउट गर्नु ‘बेस्ट मोमेन्ट’

काठमाडौं : सोमबार राति अघिसम्म क्रिकेटका धेरै प्रशंसकहरूले प्रफुल्ल हिंगेको नाम सायदै सुनेका थिए।

तर, इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको खेलपछि २४ वर्षीय यी दाहिने हाते तीव्र गतिका बलर अहिले चर्चाको शिखरमा छन्।

खेलअघि सबैको नजर राजस्थानका लयमा रहेका ओपनर वैभव सूर्यवंशी र यशस्वी जयसवालमा थियो।

यद्यपि, हैदराबादका कप्तान इशान किशनको दिमागमा भने अर्कै योजना थियो। उनले विस्फोटक ब्याटिङ जोडीको अगाडि डेब्यु गरिरहेका प्रफुल्ल हिंगेलाई बलिङ थमाइदिए।

हिंगेले आफ्नो पहिलो ओभरमै यस्तो जादु देखाए कि राजस्थानका ब्याटरहरू सम्हालिनै सकेनन्। उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै शानदार लयमा रहेका वैभव सूर्यवंशीलाई शून्यमै आउट गरे।

सोही ओभरको चौथो बलमा ध्रुव जुरेल र अन्तिम बलमा प्रिटोरियसलाई आउट गर्दै राजस्थानलाई यस्तो झट्का दिए, जसबाट टोली खेलभरि नै बाहिर निस्कन सकेन।

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफमा राजस्थान रोयल्स १९ ओभरमा १५९ रनमै अलआउट भयो।

हैदराबादले यो खेल ५७ रनले जित्यो। आफ्नो पहिलो खेलमै हिंगेले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १३ वटा ‘डट बल’ फालेका थिए।

खेलपछि आफ्नो प्रदर्शनबारे बोल्दै प्रफुल्लले भने, ‘मैले कतै लेखेर राखेको थिएँ कि जब म पहिलो खेल खेल्नेछु, तब पक्कै ४ वा ५ विकेट लिनेछु। पावरप्लेमा विपक्षीलाई दबाबमा राख्ने मेरो लक्ष्य थियो। मलाई विश्वास छ कि कतिपय सोचेका कुराहरू साँच्चै पूरा हुन्छन्।’

उनले वैभव सूर्यवंशीको विकेटलाई आफ्नो ‘बेस्ट विकेट’ बताए। उनले बलिङ प्रशिक्षक वरुण आरोनसँगको योजना अनुसार पहिलो बल बाउन्सर फालेर वैभवलाई आउट गर्ने रणनीति सफल भएकोमा खुसी व्यक्त गरे।

हैदराबादका कप्तान इशान किशनले पनि कप्तानी पारी खेल्दै मात्र ४४ बलमा ६ छक्का र ८ चौकाको मद्दतले ९१ रन बनाए। खेलपछि उनले प्रफुल्लको मुक्तकण्ठले प्रशंसा गरे।

इशानले भने, ‘प्रफुल्लमा क्रिकेटप्रति ठूलो भोक र ऊर्जा छ। उनी सिजनभरि बलिङ प्रशिक्षक वरुण आरोनसँग मिहिनेत गरिरहेका थिए। आज उनलाई मौका दिनु हाम्रो सही निर्णय सावित भयो।’

नागपुरमा जन्मिएका हिंगेले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरु गरेका थिए। उनले अक्टोबर २०२४ मा विदर्भका लागि रणजी ट्रफी खेल्दै ‘फर्स्ट क्लास’ डेब्यु गरेका थिए।

उनले ११ इनिङ्समा १६ विकेट लिएर आफ्नो प्रतिभा देखाएका थिए। हिंगेका आदर्श खेलाडी प्याट कमिन्स हुन्, जो हैदराबादका नियमित कप्तान समेत हुन्। उनी कमिन्ससँग ड्रेसिङ रुम साझा गर्न पाउँदा निकै उत्साहित छन्।

हालसम्म प्रफुल्लले १० वटा ‘फर्स्ट क्लास’ खेलमा २७ विकेट र ६ वटा ‘लिस्ट-ए’ खेलमा ५ विकेट लिइसकेका छन्। उनको यो डेब्यु प्रदर्शनले आईपीएलमा एउटा नयाँ ताराको उदय भएको संकेत गरेको छ।

वैशाख १, २०८३ मंगलबार १३:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।