देशभर मौसम बदली : कोशी र बागमतीमा ‘अति भारी’ वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

देशभर मौसम बदली : कोशी र बागमतीमा ‘अति भारी’ वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सर्दा यतिबेला देशभर साधारणतया बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा हुनेछ।

विशेषगरी राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा ‘अति भारी’ वर्षाको सम्भावना छ।

यसैगरी, कोशी र बागमतीका अन्य भूभागसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको आकलन गरिएको छ। मधेस प्रदेशलगायत बाँकी भूभागमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ।

भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, भूक्षय र गेग्रान बहाव (डेब्रिस फ्लो) को उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

यसबाट कृषि, पर्यटन, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन नै प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरिएको छ।

भदौ १५, २०८३ सोमबार ०७:०९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।