रसुवा बाढी प्रभावितका लागि युएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) ले रसुवा बाढी तथा पहिरो प्रभावितका लागि ८३ टन आपत्कालीन राहत सामग्री बोकेको विमान नेपाल पठाएको छ।
यूएई एड एजेन्सीमार्फत खाद्यान्न, लत्ताकपडा, अस्थायी आश्रय तथा विभिन्न मानवीय सामग्रीसहितको राहत बोकेको विमान नेपाल पठाइएको हो। भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौं मानिसको मृत्यु, घाइते र बेपत्ता भएकाहरूका लागि सहयोग पुर्याउने उद्देश्यले यो सहायता पठाइएको हो।
युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको निर्देशनमा प्रभावितको राहतका लागि १ करोड अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) छुट्याइएको छ। उक्त सहयोगले प्रभावित क्षेत्रमा प्रारम्भिक पुनःस्थापना तथा स्थायित्वमा सहयोग पुर्याउनुका साथै सबै उमेर समूहका मानिसका लागि आवश्यक खाद्यान्न तथा आधारभूत सामग्री उपलब्ध गराउने उद्देश्य राखेको छ।
राहत सामग्री प्रभावित क्षेत्रका वास्तविक पीडितहरूसम्म शीघ्र पुर्याउन युएई एड एजेन्सी र नेपालस्थित युएई दूतावासले स्थानीय सरकारी निकायहरूसँग प्रत्यक्ष समन्वय गरिरहेका छन्।
साथै, प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँग पनि निरन्तर समन्वय भइरहेको एजेन्सीले जनाएको छ।
भदौ १४, २०८३ आइतबार १३:५१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।