रसुवा बाढी प्रभावितको उद्धार र राहतमा भारतको सहयोग : ६८.५ टन राहत सामग्री, सुरुङ उद्धार र फरेन्सिक टोली नेपालमा

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा भारतको सहयोग : ६८.५ टन राहत सामग्री, सुरुङ उद्धार र फरेन्सिक टोली नेपालमा

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि नेपाललाई निरन्तर सहयोग गरिरहेको छ। 

सुरुआती दिनदेखि नै राहत सामग्री पठाउँदै आएको भारतबाट आइतबार बिहान ११ टन राहत सामग्री तथा प्राविधिक टोली बोकेको चौथो चरणको सहायता सामग्री आज बिहान काठमाडौं आइपुगेको भारतीय दूतावासले जनाएको छ।

यससँगै भारतले हालसम्म हवाई मार्गमार्फत कुल ६८.५ टन राहत सामग्री नेपाल ल्याइसकेको छ।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत आएको उक्त खेपमा सुरुङभित्र खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली, डीएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञहरूको टोली तथा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटलगायत सामग्री छन्।

सुरुङ उद्धार र फरेन्सिक टोली परिचालन
भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेका मानिसको खोज तथा उद्धारका लागि भारतले विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको 'टनेल टेक्निकल कन्टिन्जेन्ट' (सुरुङ प्राविधिक दस्ता) पठाएको छ। यो टोलीले नेपाली विपद् प्रतिकार्य टोलीसँग मिलेर प्रत्यक्ष रूपमा उद्धार कार्य सुरु गरिसकेको छ। भारतसँगै चीनको सुरुङ उद्धार टोली पनि शनिबार नेपाल आइपुगेर प्रभावित क्षेत्रमा खटिसकेको छ।

त्यस्तै, बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको अवशेष पहिचान गर्न र डीएनए नमुना विश्लेषण गर्न ६ वटा फरेन्सिक टोलीका १९ सदस्यीय विशेषज्ञ समूह पनि आवश्यक उपकरणसहित नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। हालसम्म सयौँ शव फेला परेको र धेरैको पहिचान खुल्न बाँकी रहेकाले यो फरेन्सिक टोलीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यातायात सुचारु गर्न बेली ब्रिज र मोड्युलर स्टिल ब्रिज
बाढीपहिरोले क्षति पुर्याएका प्रमुख राजमार्ग तथा पुलहरूमा यातायात पुनः सुचारु गर्न भारतले संरचनागत सहयोग पठाउन थालेको छ। २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरणहरू बोकेका १६ वटा ट्रकहरू नेपाल आइपुगिसकेका छन्। थप ७ वटा बेली ब्रिजका उपकरणहरू र ती जडान गर्ने प्राविधिक टोलीहरू पनि छिट्टै नेपाल आइपुग्ने भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन्।

जयशंकरले आइतबार सामाजिक सञ्जालमार्फत नेपालमा जारी उद्धार तथा राहत प्रयासमा भारतको निरन्तर सहयोग रहने बताएका छन्। उनका अनुसार भारतले खोज तथा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणसहित सुरुङ प्राविधिक दस्ता नेपाल पठाएको हो।

यसअघि भारतले पहिलो चरणमा १० टन, दोस्रो चरणमा ३७.५ टन र तेस्रो चरणमा १० टन गरी त्रिपाल, कम्बल, स्लीपिङ ब्याग, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, जेनेरेटर सेट, औषधि, तयारी खाना र पानी शुद्धीकरण गर्ने ट्याब्लेट नेपाल पठाइसकेको छ। शुक्रबार भारतले पाँच सदस्यीय सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र छ सदस्यीय चिकित्सा टोली नेपाल पठाएको थियो।

भारतबाहेक विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाहरूले पनि नेपाललाई आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन्।

भदौ १४, २०८३ आइतबार १२:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।