५० टन राहत र सुरुङ उद्धार विशेषज्ञसहित चीनका दुई सैन्य विमान काठमाडौंमा
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका क्षेत्रमा जारी उद्धार तथा राहतका लागि चीन सरकारले ५० टन राहत सामग्री र चार जना सुरुङ उद्धार विशेषज्ञ टोली पठाएको छ।
चिनियाँ वायुसेनाका दुई वटा ‘वाई–२०’ सैन्य ढुवानी विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विमानले चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए।
चीनले पठाएका दुवै विमानमार्फत पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक, प्राथमिक उपचार किटलगायत १३ हजार दुई सय थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ।
यसका साथै, बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा कैयौँ मानिसहरू फसेको खबर सार्वजनिक भएसँगै चीनले अत्याधुनिक उपकरणसहित चार जना सुरुङ उद्धार विशेषज्ञ पठाएको छ। शनिबार नै नेपाल आइपुगेका चीन र भारतका सुरुङ उद्धार टोलीहरू नेपाली सेनाको समन्वयमा सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन्।
चीनले सुरुवाती दिनदेखि नै राहत र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन्।
बाढीबाट तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनालगायतका संरचनामा ठूलो क्षति पुगेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन्।
भदौ १४, २०८३ आइतबार ११:४३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।