बाढीपछिको पुनर्निर्माणमा पौने ७ खर्बसम्म खर्च हुने अनुमान, कुल अर्थतन्त्रको १० प्रतिशत बराबर क्षति

बाढीपछिको पुनर्निर्माणमा पौने ७ खर्बसम्म खर्च हुने अनुमान, कुल अर्थतन्त्रको १० प्रतिशत बराबर क्षति

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि करिब ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब साढे ५ खर्बदेखि पौने ७ खर्ब नेपाली रुपैयाँ) लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीले पुर्याएको विनाशपछिको पुनर्निर्माणबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा संरचनाहरूको पुनःनिर्माणका लागि उक्त रकम आवश्यक पर्ने बताएका हुन्। यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (अर्थतन्त्र) को करिब १० प्रतिशत बराबर हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स कुरा गर्दै अर्थमन्त्री वाग्लेले यो तथ्याङ्क केवल प्रारम्भिक अनुमान मात्र भएको स्पष्ट पारे। "हाम्रो प्रारम्भिक अनुमान ४ देखि ५ अर्ब डलरको हो, यो केवल एउटा अनुमान मात्र हो," अर्थमन्त्री वाग्लेले भने, "हामीलाई सन् २०१५ को भूकम्पको समयमा लागेको भन्दा धेरै कम रकम आवश्यक पर्नेछ। हाल कुल क्षति र नोक्सानीको मूल्याङ्कन गर्ने काम भइरहेको छ।"

बाढीका कारण हालसम्म बेपत्ता भएकामध्ये ६२६ जनाको शव फेला परेको छ।

विनाशकारी बाढीले विभिन्न स्थानमा जलविद्युत् आयोजना, सडक, पुल, विद्यालय तथा स्वास्थ्य संस्थासहितका महत्त्वपूर्ण पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको छ। सरकारले हाल उद्धार र राहत कार्यलाई तीव्रता दिँदै क्षति मूल्याङ्कनको काम अघि बढाएको छ।

भदौ १३, २०८३ शनिबार १३:३४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।