मलेखु-गलौदी खण्डको सात सय मिटर सडकमा लेदो पन्छाएपछि पृथ्वी राजमार्ग खुल्ने

मलेखु-गलौदी खण्डको सात सय मिटर सडकमा लेदो पन्छाएपछि पृथ्वी राजमार्ग खुल्ने

काठमाडौं : भोटेकोशीको बाढी र अविरल वर्षापछि खसेको पहिरोका कारण पृथ्वी राजमार्गसहित देशका विभिन्न मुख्य सडकखण्ड अवरुद्ध भएका छन्।

अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहे पनि मुख्य गरी मलेखु-गलौदी खण्डमा करिब सात सय मिटर लेदो जमेकाले यातायात पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

सडक विभागका अनुसार उक्त लेदो पन्छाएपछि मात्र राजमार्ग पूर्ण रूपमा सुचारु हुनेछ। यद्यपि, राजमार्गको गल्छी-बैरेनी खण्ड भने बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सोही क्षेत्रको जरिखेत (जहरेखेत) खण्डमा थुप्रिएको ढुङ्गामाटो पन्छाएर यातायात सुचारु गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ जिल्लाका विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य निरन्तर भइरहेको छ।

बेनिघाट रोराङ गाउँपालिका-१० ज्याङखोला र वडा नम्बर २ स्थित बिहानी पम्पतर्फ लेदो हटाउने काम जारी छ।

तर, सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित गलौदीमा भने अवरोधका कारण एक्साभेटरलगायतका भारी उपकरण पुग्न नसक्दा लेदो हटाउन कठिनाइ भइरहेको छ।

यसैगरी, गजुरी गाउँपालिका-६ को बाङ्गेमोड र गल्छी गाउँपालिका-६ बैरेनीमा पनि सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिन-गल्छी खण्डका साथै देशका अन्य प्रमुख राजमार्गहरू पनि प्रभावित भएका छन्।

प्रहरीका अनुसार मुग्लिन-नारायणगढ सडकखण्ड, मेची राजमार्ग, पासाङल्हामु राजमार्ग, रुकुमपश्चिमको भेरी करिडोर र रोल्पाको सहिद मार्गसमेत पहिरोका कारण अवरुद्ध रहेका छन्।

भदौ १२, २०८३ शुक्रबार १०:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।