बाढी पूर्वानुमान महाशाखाले भन्यो- 'चीनबाट नदी थुनिएको सूचना आयो, सुरक्षित स्थानमा रहनु'

बाढी पूर्वानुमान महाशाखाले भन्यो- 'चीनबाट नदी थुनिएको सूचना आयो, सुरक्षित स्थानमा रहनु'

 काठमाडौं : बुधबार विनाशकारी बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको सूचना चीनबाट आएको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

थुनिएको नदी बढ्ने क्रममा रहेको र फुट्ने जोखिम रहेको भन्दै भोटेकोसीको तल्लो तटीय क्षेत्रका बासिन्दा तथा हाल उद्धारमा खटिएको टोलीलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो। 

चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार  भू-उपग्रह (स्याटेलाइट) तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी सिर्जना भएको स्थानमै नदी थुनिएर नयाँ ताल बनेको पाइएको महाशाखाले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त ताल निरन्तर ठूलो हुँदै गएको (बढ्ने क्रममा रहेको) छ र यो जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिम रहेको छ।

ताल फुटेमा भोटेकोसी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले विशेष अपिल जारी गरेको हो।

महाशाखाले अर्को सूचना जारी नभएसम्मका लागि भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका सम्पूर्ण बासिन्दा, नदी आसपास यात्रा गरिरहेका यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबै निकायलाई विशेष सतर्कता अपनाउन भनेको छ। नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्र छोडेर सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह  गरेको छ।

भदौ ११, २०८३ बिहीबार १७:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।