पहिरोले थुनिएर बनेको तालमा २० लाख घनमिटर पानी जमेको चिनियाँ रिपोर्ट, आगामी तीन दिनमा फुट्ने उच्च जोखिम

पहिरोले थुनिएर बनेको तालमा २० लाख घनमिटर पानी जमेको चिनियाँ रिपोर्ट, आगामी तीन दिनमा फुट्ने उच्च जोखिम

काठमाडौं : नेपालतर्फ बग्ने दुई नदीको संगमस्थल नजिक पहिरोका कारण एक ठूलो ताल (ब्यारियर लेक) बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिरिनसमेत थालिसकेको चिनियाँ जलश्रोत मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 

चीनको सरकारी सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजनका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ। यसले आगामी तीन दिनभित्र फुटेर भीषण बाढी आउने सक्ने जोखिम उच्च रहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तालको स्थितिबारे निरन्तर सूक्ष्म निगरानी गरिरहेको छ। सम्भावित रूपमा ताल फुटेर आउने बाढीको प्रभावबारे पूर्वानुमान गर्न बाढीको सिमुलेसन तथा विश्लेषण भइरहेको र आपत्कालीन उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सम्भावित ब्यारियर लेक फुटेमा त्यसबाट निस्कने ठूलो परिमाणको पानीले तल्लो तटीय क्षेत्रमा अचानक बाढी ल्याउन सक्ने भएकाले चिनियाँ जलस्रोत अधिकारीहरूले आगामी तीन दिनलाई उच्च जोखिमको अवधिका रूपमा निगरानी गरिरहेका छन्।

भदौ ११, २०८३ बिहीबार १७:०७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।