प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, भने- 'सबै प्रकारका सहायताका लागि भारत तयार छ’
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै रसुवालगायत क्षेत्रमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
संवाद लगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै यस कठिन घडीमा भारत नेपालको साथमा रहेको उल्लेख गरेका छन्।
उनले नेपाललाई आवश्यक पर्ने सम्भव भएसम्मका सम्पूर्ण मानवीय सहायता, उद्धार तथा राहत सामग्रीहरू तत्काल उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
"प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी गरी नेपालमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ। यस कठिन घडीमा भारतका जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्ध भएर उभिएका छन्", बालेनसँगको संवादपछि मोदीले लेखेका छन्, "भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ।"
मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली पक्षसँग समन्वय गरिरहेको पनि जानकारी गराएका छन्।
भदौ १०, २०८३ बुधबार १८:०६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।