बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ।

बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन गरेको छ। विभागले क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायतका मेसिनरी उपकरण परिचालन गरी सडक खुलाउने र क्षतिको थप मूल्यांकन गर्ने काम अघि बढाएको जनाएको छ।

त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आवागमन प्रभावित भएको छ। विभागले प्रभावित क्षेत्रमा पुनःस्थापना र मर्मतको काम तीव्र बनाइएको जनाएको छ।

भदौ १०, २०८३ बुधबार १५:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।