रसुवा बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

रसुवा बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न जोखिम र थप क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले चिनियाँ समकक्षी सुरक्षा निकायसँग संवाद र पूर्वसूचना आदान–प्रदानलाई तीव्र बनाएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भोटेकोशी र त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप हिमताल विस्फोट हुनसक्ने वा बाढीको थप जोखिमबारे पूर्वसूचना प्राप्त गर्न चिनियाँ सुरक्षा अधिकारीहरूसँग निरन्तर सम्पर्क भइरहेको छ।

यसैबीच, तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार, उपचार र राहत कार्यलाई  तीव्र पारिएको छ। बाढी प्रभावित गम्भीर घाइतेहरूको प्राथमिक उपचारसँगै बलको सतुङ्गलस्थित एपीएफ अस्पतालमा विशेष शय्याहरू खाली गरी तयारी अवस्थामा राखिएको छ।

नुवाकोटको सदरमुकाम विदुरमा अस्थायी स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। विस्थापित शिविरहरूमा पानीजन्य रोग तथा हैजा फैलिन नदिन खानेपानी शुद्धीकरणका औषधिहरू वितरण सुरु गरिएको छ।

बाढी प्रभावित क्षेत्र तथा रसुवागढी भन्सार यार्डमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको विशेष तालिमप्राप्त कुकुर टोली खटाइएको छ।

थुनिएका वा हराइरहेका नागरिकको पहिचान र भौतिक क्षतिको मूल्याङ्कनका लागि ड्रोन परिचालन गरिएको छ। रसुवाभन्दा तलका तटीय क्षेत्रहरू (नुवाकोट, धादिङ र चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटहरूलाई 'हाइ अलर्ट' मा राखिएको छ।

गस्ती टोली र माइकिङमार्फत जोखिमयुक्त बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिएको छ। देशभरी रहेका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनरहरूलाई प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ।

यस्तै, हवाई उद्धारका लागि आपत्कालीन हेलिप्याड निर्माण गरी हेलिकोप्टर उडान-अवतरणको व्यवस्था मिलाइएको छ भने मुख्य सडक खण्डमा खसेको पहिरो हटाई बाटो खुलाउने काम निरन्तर जारी छ।

भदौ १०, २०८३ बुधबार १४:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।